Jul 25, 2013

येशे छोग्याल




तिब्बतमा अभ्यास गरिने बौद्धधर्म वज्रयान हो । भिक्षु नभएका पनि सिद्धहरू हुन्छन् । जस्तो पद्मसंभव, तिलोपा, मार्पा, मिलारेपा भिक्षु होइनन् । उनीहरू प्राय: विवाहित हुन्छन् । विवाहित नभएपनि जीवनको कुनै चरणमा सिद्धी प्राप्त हेतू कन्सोर्टको मद्दत लिएकै हुन्छ । पुरूषको कन्सोर्ट महिला तथा महिलाको कन्सोर्ट पुरूष हुनै पर्छ । पुरूष उपाय तथा महिला प्रज्ञा कि प्रतीक हुन् ।

तिब्बतका राजा ठ्रीचेन देचेनकी श्रीमति येशे छोग्याललाई गुरू रिम्पोछेले 'तिमी सिद्धी प्राप्त गर्ने हो भने तिम्रो कन्सोर्ट काठमाण्डौंमा छ' भनेर भन्नुभएको थियो । येशे छोग्याल अनेक बाधा कष्ट सहेर काठमाण्डौं आइपुगे र आफ्नो कन्सोर्ट खोजे । अन्तत: भक्तपूरमा एउटा बंधुवा मजदूरको रूपमा उनले आफ्नो कन्सोर्टलाई भेटिन् । तब उनले ती बंधुवा मजदूरका मालिकलाई 'यो केटा मलाई ध्यान गर्न दिनुस्' भनेर मागिन् । यसलाई त मैले किनेको हो । मैले तिरेको मूल्य देऊ र केटो लैजाउ भनेर मालिकले जवाफदिए । येशे छोग्याल सोचमा परिन् । उनी मसानमा गएर अब के गर्ने भनेर सोचमग्न भएको अवस्थामा अकस्मात उनले एकजोडी धनी लोग्नेस्वास्नी रोई-कराई गरेको देखिन् । कुरा बुझ्दा उनीहरूका भर्खरका छोरा मरेका रहेछन् र मसानमा जलाउन ठीक्क पारिएको रहेछ । तब येशे छोग्यालले उनीहरूलाई सोधिन्:
- मैले तपाईंहरूको छोरालाई जिउँदो पारिदिएभने मलाई के दिनुहुन्छ ?
छक्क पर्दै उनीहरूले भने:
- छोराको तौल बराबरको सुन तिमीलाई दिन्छौं ! सक्छौ भने कृपया केही गर !

तब येशे छोग्यालले वज्रायाणी पुजा गरेर चितामा राखेको शरिरलाई बिउँझाई दिईन् । धनीजोडीका छोरा जुर्मुराएर बिउँझियो र आमा, बाबा भन्दै रोयो । धनीजोडी अत्यन्तै खुशी भै वचन दिए अनुसारको सुन येशे छोग्याललाई दिए । त्यो सुन बंधुवा मजदुरको मालिकलाई दिएर येशे छोग्यालले आफ्नो भावी कन्सोर्टलाई छुटाईन् र पछि उ सँग साधना गरी सिद्धी प्राप्त गरिन् ।

येशे छोग्यालको उक्त कन्सोर्टको नाम आचार्य साले हो । संखमूलबाट पाटन बगलमुखी जाने बाटोमा उहाँको विहार छ जसको नाम ऐम्पी विहार हो ।

(जुलाई २३, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)

No comments:

Post a Comment