तीन असंख्य कल्प अघि सूमेद नामक ब्राहमणले दिपंकर बुद्धलाई भेटी ‘म पनि तपाईं
जस्तो बन्न चाहन्छु’ भने । भनिन्छ सूमेद ब्राहमणले दिपंकर बुद्ध सामु उक्त
संकल्प लिने बित्तिकै उनी बोधिसत्व भए । सूमेद ब्राहमण मृत्यु पश्चात पनि
बोधीचित्त अभ्यासमा लीन नै रहे । हरेक जन्ममा उनले बोधीसत्व अभ्यासलाई कायमै
राखे । महासत्व राजकुमारको रूपमा पनौतीमा जन्म लिएको बेला उनमा करूणाको मात्रा यति बढेको थियो कि
भोकाएकी बघिनीलाई देखेर आफ्नै शरिरलाई काटेर समेत खिलाएका थिए । त्यसपछि
उनको जन्म तुषित Tushita नामक देवलोकमा भयो । त्यसपछि लुम्बिनीमा
सिद्धार्थको रूपमा उनको जन्म भयो । यो उनको ५४७ औं जन्म थियो । पाली
त्रिपिटकहरूमा यी ५४७ वटै जन्महरूका विवरण पाउन सकिन्छ । जातक कथाहरूमा
यिनका सबै जन्मका, सूमेद ब्राहमण देखि लिएर तुषित सम्मका कथाहरू लेखिएका
छन् । यी ५४७ जन्महरू मध्येका ३४ वटा जन्मका कथाहरूलाई समेटेर अश्वघोष नामक
महाकवीले जातकमाला लेख्नु भयो । नेपालमा पाइने पौवा, थांकाहरू जातकमाला
पुस्तकका कथाहरूमा आधारित छन् । जातकमालाको आधारमा बुद्धका पछिल्ला जन्मका
कहानीहरूलाई चित्रांकन गरिएको हुन्छ । सिद्धार्थका कथा चाहिं जातकमा लेखिएको छैन किनभने त्यो नै उनको अन्तिम जन्म थियो ।
यसरी दिपंकर बुद्धको चेला, तीन असंख्य कल्पहरू पछि सिद्धार्थ भए । सूमेद ब्राहमण देखि सिद्धार्थ सम्मको जति जन्महरू भए, ती जन्महरूका कहानी नै जातक हो ।
(जुलाई २०, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)
No comments:
Post a Comment