Jul 31, 2013

योग

पतंजली मूर्ति
साभार विकिपेडिया

पतंजली नामक योगीले योग ज्ञानलाई संकलन गरेर ईशा पूर्व २०० मा लेख्नु भएको पुस्तकको नाम पतंजली योग सूत्र हो । उहाँको भनाई अनुसार हाम्रो चित्त अत्यन्त चन्चल छ । चित्त वायू अर्थात प्राणरूपी घोडा चढेर दौड्दछ । चित्तलाई स्थिर गराउन घोडा रोक्न आवश्यक छ । पतंजली योग सूत्र प्रयोग गरेर उक्त घोडालाई रोक्न सकिन्छ । प्राणलाई यम (सं. रोक्नु) नै प्राणायाम हो । 

पू्र्वपश्चिम फैलिएको हिमालयको दक्षिण पट्टिको, विशेषत: नेपाल तर्फको क्षेत्र योगका लागि विशेष महत्वपूर्ण क्षेत्र हो ।

परमहंष योगानन्द
साभार विकिपेडिया


योगलाई पश्चिममा परिचय गराउने योगी योगानन्द परमहंष हुन् । उनले सन् १९२० देखि सन् १९५२ सम्मको अमेरिका बसाईको दौरानमा पश्चिमलाई योगसंग परिचय गराए । 

योगका ८ नीयमहरू यसप्रकार छन् -
१ यम (Not to do)
पञ्चशील विपरित कार्य नगर्ने ।

२ नीयम (Things to do)
पञ्चशील पालना गर्ने ।

३ आसन (Posture)
योगमा आसनको ठूलो महत्व छ । सूर्य नमस्कार आसननै १२ वटा हुन्छन् । योगानन्द परमहंषले आसनलाई बढि जोड दिऐ । उल्लेखित आसनहरूको नियमपूर्वक पालना गर्ने । 

४ प्राणायाम (Breathing control)
स्वासप्रस्वासमा नियन्त्रण गरेर रिस, रागबाट मुक्त हुन सकिने । 

५ प्रत्याहार (Withdrawal of senses)
हाम्रा शरिरमा निहित पाँच इन्द्रियहरूलाई वशमा राख्ने । जस्तै कानले सुने पनि धेरै नसुन्ने । आँखाले देखे पनि धेरै हेर्ने ।

६ ध्यान (Concentration)
मलाई एकठाउँमा केन्द्रित गर्ने ।

७ धारणा (Holding)
एकठाउँमा केन्द्रित मनलाई उही स्थितीमा सकसम्म लामो समय सम्म तन्काउँदै लाने । 

८ समाधी (Absorption)
बाहिरी घटनाहरूबाट मनलाई पर लाँदै मोक्ष तिर लाग्ने ।

माथि उल्लेखित १ देखि ४ सम्मका नीयमहरू वास्तवमा आफूलाई गर्नुपर्ने तयारी हो । ५ नम्बरको नीयम पारगमनको बिन्दु अर्थात Transit point हो । त्यसपछिको ६,७ र ८ पूर्णत: ध्यान हुन् । 

योगको अन्तिम बिन्दुमा पुगेर आफ्नो आत्माको तह ब्रम्हको तहमा बिलाइन्छ । योगीहरूलाई खाल्टो खनेर गाड्ने चलन छ । कोपुण्डोल बागमती पूल देखि संकटमोचन सम्मको स्थानमा योगीहरूलाई गाडिन्थ्यो । 

योग पद्धती नाथ संप्रदायमा प्रचलित छ । विशेषत: गोरखनाथ । गोरखनाथ पन्थका योगीहरू चित्त एकाग्रता हेतू गाँजा सेवन गर्छन् । तर पतंजलीको योग सूत्रमा गाँजाको उल्लेख कतै छैन । 

- के समाधी र निवार्ण एकै हो ?
- निर्वाण अवस्थामा चेतना विकसित अवस्थामा रहन्छ । तर समाधी अवस्थामा चेतना सून्यको अवस्थामा हुन्छ । समाधी र निर्वाणमा समानता के छ भने यी दुवै पश्चात पूनर्जन्म रोकिन्छ । 

(जुलाई २९, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)



Jul 29, 2013

पञ्च बुद्ध



मनमा द्वेष भाव उत्पन्न भएको खण्डमा उक्त द्वेषभावलाई हटाउन अक्षोभ्यको मन्त्र जप्नु पर्दछ  । घमण्डको भाव उत्पन्न भएमा उक्त घमण्डको भावलाई हटाउन रत्नसम्भवको मन्त्र जप्नु पर्दछ । यसरी नै रागको भाव उत्पन्न भएमा उक्त रागको भावलाई मेटाउन अमिताभको मन्त्र जप्ने । इर्ष्याको भाव उत्पन्न भएको खण्डमा उक्त इर्ष्याको भावलाई मेटाउन अमोघसिद्धीको मन्त्र जप्नु पर्दछ र मन अल्छिपनले ग्रस्त भएको खण्डमा मनको आलस्यलाई हटाउन वैरोचनको मन्त्र जप्नु पर्छ ।


पञ्च बुद्धहरू
रंग
दिशा
पञ्च तत्व
मनको भाव
मुद्रा
अक्षोभ्य
v नीलो
पूर्व
जल
द्वेष, रिस
भूमिस्पर्श
रत्नसंभव
v पहेंलो
दक्षिण
पृथ्वी
घमण्ड, मान
दान
अमिताभ
v रातो
पश्चिम
अग्नी
राग, आकर्षण
ध्यान
अमोघसिद्धी
v हरियो
उत्तर
वायू
इर्ष्या
अभयदान,
वैरोचन
v सेतो
मध्य
आकाश
अल्छि
धर्मचक्र

Jul 25, 2013

येशे छोग्याल




तिब्बतमा अभ्यास गरिने बौद्धधर्म वज्रयान हो । भिक्षु नभएका पनि सिद्धहरू हुन्छन् । जस्तो पद्मसंभव, तिलोपा, मार्पा, मिलारेपा भिक्षु होइनन् । उनीहरू प्राय: विवाहित हुन्छन् । विवाहित नभएपनि जीवनको कुनै चरणमा सिद्धी प्राप्त हेतू कन्सोर्टको मद्दत लिएकै हुन्छ । पुरूषको कन्सोर्ट महिला तथा महिलाको कन्सोर्ट पुरूष हुनै पर्छ । पुरूष उपाय तथा महिला प्रज्ञा कि प्रतीक हुन् ।

तिब्बतका राजा ठ्रीचेन देचेनकी श्रीमति येशे छोग्याललाई गुरू रिम्पोछेले 'तिमी सिद्धी प्राप्त गर्ने हो भने तिम्रो कन्सोर्ट काठमाण्डौंमा छ' भनेर भन्नुभएको थियो । येशे छोग्याल अनेक बाधा कष्ट सहेर काठमाण्डौं आइपुगे र आफ्नो कन्सोर्ट खोजे । अन्तत: भक्तपूरमा एउटा बंधुवा मजदूरको रूपमा उनले आफ्नो कन्सोर्टलाई भेटिन् । तब उनले ती बंधुवा मजदूरका मालिकलाई 'यो केटा मलाई ध्यान गर्न दिनुस्' भनेर मागिन् । यसलाई त मैले किनेको हो । मैले तिरेको मूल्य देऊ र केटो लैजाउ भनेर मालिकले जवाफदिए । येशे छोग्याल सोचमा परिन् । उनी मसानमा गएर अब के गर्ने भनेर सोचमग्न भएको अवस्थामा अकस्मात उनले एकजोडी धनी लोग्नेस्वास्नी रोई-कराई गरेको देखिन् । कुरा बुझ्दा उनीहरूका भर्खरका छोरा मरेका रहेछन् र मसानमा जलाउन ठीक्क पारिएको रहेछ । तब येशे छोग्यालले उनीहरूलाई सोधिन्:
- मैले तपाईंहरूको छोरालाई जिउँदो पारिदिएभने मलाई के दिनुहुन्छ ?
छक्क पर्दै उनीहरूले भने:
- छोराको तौल बराबरको सुन तिमीलाई दिन्छौं ! सक्छौ भने कृपया केही गर !

तब येशे छोग्यालले वज्रायाणी पुजा गरेर चितामा राखेको शरिरलाई बिउँझाई दिईन् । धनीजोडीका छोरा जुर्मुराएर बिउँझियो र आमा, बाबा भन्दै रोयो । धनीजोडी अत्यन्तै खुशी भै वचन दिए अनुसारको सुन येशे छोग्याललाई दिए । त्यो सुन बंधुवा मजदुरको मालिकलाई दिएर येशे छोग्यालले आफ्नो भावी कन्सोर्टलाई छुटाईन् र पछि उ सँग साधना गरी सिद्धी प्राप्त गरिन् ।

येशे छोग्यालको उक्त कन्सोर्टको नाम आचार्य साले हो । संखमूलबाट पाटन बगलमुखी जाने बाटोमा उहाँको विहार छ जसको नाम ऐम्पी विहार हो ।

(जुलाई २३, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)

मिलारेपाको थाङ्का चित्र



मिलारेपाको थाङ्का चित्रको पृष्ठभूमिको सानो कुनामा तिलोपाको चित्र हुन्छ । त्यसपछि सानो नारोपाको चित्र हुन्छ । त्यसको अलि तल अलि ठूलो मार्पाको चित्र हुन्छ । त्यसको अलि मुनि, अलि ठूलो मिलारेपाको चित्र हुन्छ । मिलारेपाको मुनि अलि सानो गम्पोपा र रेन्चेनपाको चित्र हुन्छ । यसको अर्थ के हो भने मिलारेपा एकैपटक बनेको होइन । मिलारेपा बन्नका यी सबैका योगदान छन् ।

तिलोपाले आफ्नो ज्ञान नारोपालाई दियो । नारोपाले फर्थिङपालाई । फर्थिङपाले मार्पालाई । मार्पाले मिलारेपालाई । मिलारेपाले गम्पोपालाई । गम्पोपाले कर्मापालाई दिए जुन हालसम्म कायम छ ।

(जुलाई २३, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)

तिब्बती बौद्धधर्ममा नेपालको महत्व


साभार boston.com

नीङ्मापा, काग्युपा, साक्यपा, गेलुगपा यी सबैका संस्थापक लामाहरू जीवनको कुनै न कुनै चरणमा फर्पिङमा आएर तपश्या गरेका थिए । त्यसैले तिब्बतीहरू वर्षामा फर्पिङ आएर तपश्या गर्थे । जाडोमा बौधगया जान्थे । उनीहरूको ट्रान्जिट प्वाईण्ट नेपाल थियो । यो क्रम चौधौं शताब्दी सम्म चल्यो । त्यो समय सम्म उनीहरूले नेपाली सिद्धहरूबाट सिकेका ज्ञानलाई तिब्बती भाषामा अनुवाद गरे । बौद्धधर्मका पुस्तकहरू तिब्बती भाषामा अनुवाद गरे । पुस्तक छाप्ने नौलो कला विकास गरे । उनीहरू काठमा खोपेर पुस्तकलाई कागज वा कपडामा छाप्न योग्य बनाएर राख्थे । त्यसरी छापिएका पुस्तकहरूलाई लद्दाख, भुटान, मंगोलिया, नेपालका हिमाली गाउँहरू सम्म पुर्याए । 

यसरी भारतको नारोपाले दिएको ज्ञान नेपाली फर्थिङपाबाट तिब्बती मार्पा सम्म पुग्यो र तिब्बत भरी फैलियो । अहिले हिमाली क्षेत्रमा प्रचलित बौद्धधर्म भनेको आठौं नवौं शताब्दीमा उत्तरी भारतमा अभ्यास गरिएको बौद्धधर्म हो । सातौं, आठौं शताब्दीको उत्तर भारत हेर्ने हो भने काठमाण्डु हेरे हुन्छ भनेर सिल्भाँ लेभीले आफ्नो पुस्तक ‘ल नेपाल’मा भन्नुभएको छ । 

(जुलाई २३, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)




Jul 24, 2013

जातक के हो ?


तीन असंख्य कल्प अघि सूमेद नामक ब्राहमणले दिपंकर बुद्धलाई भेटी ‘म पनि तपाईं जस्तो बन्न चाहन्छु’ भने । भनिन्छ सूमेद ब्राहमणले दिपंकर बुद्ध सामु उक्त संकल्प लिने बित्तिकै उनी बोधिसत्व भए । सूमेद ब्राहमण मृत्यु पश्चात पनि बोधीचित्त अभ्यासमा लीन नै रहे । हरेक जन्ममा उनले बोधीसत्व अभ्यासलाई कायमै राखे । महासत्व राजकुमारको रूपमा पनौतीमा जन्म लिएको बेला उनमा करूणाको मात्रा यति बढेको थियो कि भोकाएकी बघिनीलाई देखेर आफ्नै शरिरलाई काटेर समेत खिलाएका थिए । त्यसपछि उनको जन्म तुषित Tushita नामक देवलोकमा भयो । त्यसपछि लुम्बिनीमा सिद्धार्थको रूपमा उनको जन्म भयो । यो उनको ५४७ औं जन्म थियो । पाली त्रिपिटकहरूमा यी ५४७ वटै जन्महरूका विवरण पाउन सकिन्छ । जातक कथाहरूमा यिनका सबै जन्मका, सूमेद ब्राहमण देखि लिएर तुषित सम्मका कथाहरू लेखिएका छन् । यी ५४७ जन्महरू मध्येका ३४ वटा जन्मका कथाहरूलाई समेटेर अश्वघोष नामक महाकवीले जातकमाला लेख्नु भयो । नेपालमा पाइने पौवा, थांकाहरू जातकमाला पुस्तकका कथाहरूमा आधारित छन् । जातकमालाको आधारमा बुद्धका पछिल्ला जन्मका कहानीहरूलाई चित्रांकन गरिएको हुन्छ । सिद्धार्थका कथा चाहिं जातकमा लेखिएको छैन किनभने त्यो नै उनको अन्तिम जन्म थियो ।

यसरी दिपंकर बुद्धको चेला, तीन असंख्य कल्पहरू पछि सिद्धार्थ भए । सूमेद ब्राहमण देखि सिद्धार्थ सम्मको जति जन्महरू भए, ती जन्महरूका कहानी नै जातक हो ।

(जुलाई २०, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)

Jul 23, 2013

बुद्ध जीवनी


बुद्ध जीवनी वा Life of Buddha ‘लाइफ अफ बुद्ध’ थाङ्का चित्रलाई व्याख्या गर्ने क्रममा श्री पूण्य प्रसाद पराजुली ज्यूको भनाई यसप्रकार छ -

तीन असंख्य कल्प अघि सूमेद नामक ब्राहमणले दिपंकर बुद्धलाई भेटी ‘म पनि तपाईं जस्तो बन्न चाहन्छु’ भने । भनिन्छ सूमेद ब्राहमणले दिपंकर बुद्ध सामु उक्त संकल्प लिने बित्तिकै उनी बोधिसत्व भए । सूमेद ब्राहमण मृत्यु पश्चात पनि बोधीचित्त अभ्यासमा लीन नै रहे । हरेक जन्ममा उनले बोधीसत्व अभ्यास कायमै राखे । पनौतीमा महासत्व राजकुमारको रूपमा जन्म भएको बेला उनमा करूणाको मात्रा यति बढेको थियो कि भोकाएकी बघिनीलाई देखेर आफ्नै शरिरलाई समेत काटेर खिलाएका थिए । त्यसपछि उनको जन्म तुषित Tushita नामक देवलोकमा भयो । त्यसपछि लुम्बिनीमा सिद्धार्थको रूपमा उनको जन्म भयो । यो उनको ५४७औं जन्म थियो । पाली त्रिपिटकहरूमा यी ५४७ वटै जन्महरूका विवरण पाउन सकिन्छ । जातक कथाहरूमा यिनका सबै जन्मका कहानीहरू लेखिएका छन् । यी ५४७ जन्महरू मध्येका ३४ वटा जन्मका कथाहरूलाई समेटेर अश्वघोष नामक महाकवीले जातकमाला लेख्नु भयो । नेपालमा पाइने थांकाहरू जातकमाला पुस्तकका कथाहरूमा आधारित छन् । जातकमालाको आधारमा बुद्धका पछिल्ला जन्मका कहानीहरूलाई चित्रांकन गरिन्छ । सिद्धार्थका कथा चाहिं लेखिएको छैन किनभने त्यो नै उनको अन्तिम जन्म थियो ।

यसरी दिपंकर बुद्धको चेला सूमेद ब्राहमण तीन असंख्य कल्पहरू पछि आएर सिद्धार्थ भए । सूमेद ब्राहमण देखि सिद्धार्थ सम्मको जति जन्महरू भए, ती जन्महरूका कहानी नै जातक हो ।

अब आउने मैत्रेय बुद्धका कथा पनि यस्तै छन् । मैत्रेय अहिले देवको रूपमा तुषीतामा छन् । उनले पृथ्वीमा जन्म लिने बेला सम्ममा बौद्धधर्मलाई मानवले विर्सिसकेका हुनेछन् । त्यसपछि उनी पनि एकदिन घर छोडेर निस्कन्छन्, बौधगया पुग्छन्, त्यही पीपलको रूख मुनी ध्यान गर्नेछन् र बुद्ध बन्ने छन् । पीपलको रूखमुनी ध्यान गर्ने ठाउँको नाम वज्राशन हो जसलाई तिब्बती भाषामा दोर्जे देन भनिन्छ । वज्राशनको किन त्यस्तो विशिष्ठ महत्व छ भने क्रकुछण्द, कणकमुनी, कश्यप हुँदै शाक्यमुनी यी चारै जना उस्तै उस्तै खालका परिस्थितीहरूको सामना गर्दै, गृहत्याग गरि, यहि वज्राशनमा पुग्छन्, ध्यान गर्छन् र बुद्ध बन्छन् । यो वज्राशन भएको ठाउँमा चारपाटे चट्टान छ । यस स्थानलाई Naval of Earth पनि भनिन्छ । भनिन्छ यस स्थानमा भुईंचालोले पनि केहि नोक्सान गर्दैन । संसार ध्वस्त हुँदा पनि यो स्थान सबभन्दा अन्तिममा ध्वस्त हुन्छ । संसार पून:निर्माणहुँदा यो स्थान नै सर्वप्रथम निर्वाण हुन्छ ।

पूण्य सरले आफ्नो अनुभव सुनाउनु हुन्छ । एकपटक सिक्किममा ठूलो भुकम्प आएको बेला सर बोधगयामा हुनुहुँदो रहेछ । ध्यान गरिरहेको बेला ठूलो झट्का सबैले अनुभव गरे । तब त्यहाँका भिक्षुले ‘डराउनुपर्दैन, यो स्थानमा भुकम्पले नोक्सान गर्दैन, किनभने क्रकुछण्द देखि सिद्धार्थ सम्म सबै बुद्धहरूले यहिँ आएर ध्यानगरी बुद्ध बनेका हुन्’ भनेर सबैलाई सान्त्वना दिएछन् । सरले पछि यो स्थानविषेशका बारेमा अध्यन गर्दा उक्त स्थान Naval of Earth रहेको पनि थाहा पाउनुभएछ ।

यसरी क्रकुछण्द देखि लिएर सिद्धार्थ सम्म चार बुद्धहरू पृथ्वीमा आइसकेको पाइन्छ । अब पाँचौं चाहिं मैत्रेय बुद्ध हुनेछन् । क्रकुछण्द, कनकमुनी र सिद्धार्थको जन्म नेपालमा र भर्खरैमात्र कश्यपको चाहिं भारतमा जन्म भएको तथ्य सामुन्ने आएको छ । कपीलवस्तुका छेउछाउमा सम्राट अशोकले लेखाएका स्तम्भहरूमा यो कुरा प्रस्ट्याइएको छ ।

यसरी अहिले नै बोधिचित्तमा ध्यान दिएको खण्डमा मैत्रेयको पालामा पुगेर उनी बाटै ज्ञान प्राप्त गर्न सकिन्छ । मैत्रिय पछि पनि अरू ९९५ बुद्धहरू आउने छन् ।

- सर, प्राय गुम्बाहरूमा शाक्यमुनीको भन्दा मैत्रियको मुर्ति किन ठूलो हुन्छ ?
- किनभने शाक्यमुनी आफ्नो मिसन समाप्त गरेर फर्किसके । अब जतिनै रोए, कराए पनि उनी फर्केर आउने वाला छैनन् । तर मैत्रेय त बोलाएपनि न बोलाएपनि आउने पक्का छ । त्यसैले तिब्बतको शिगात्शे स्थित टाशीलोम्पो गुम्बामा, मुस्ताङको, बौद्धको गुम्बामा बुद्धको भन्दा मैत्रेयको मुर्तिको आकार ठूलो भएको हो । मानिसहरू मैत्रेयको बेलामा जन्म लिएर, मैत्रेयका ज्ञानलाई सुनेर, निर्वाण प्राप्त गर्न चाहन्छन् । शाक्यमुनीको युग समाप्त हुन्छ । एकदिन बुद्धधर्म के हो ? कसैलाई थाहा हुने छैन । तब मैत्रेय आउने छन् र बुद्धधर्मको प्रचार गर्नेछन् ।

- भनेपछि मैत्रेयको जन्म कहिले हुन्छ सर ?
- ‘मेरो परिनिर्वाण को पाँचहजार वर्ष पर्छ मैत्रेयको जन्म हुनेछ’ भनेर शाक्यमुनीले भन्नु भएको छ । तसर्थ सरसरी हिसाब गर्दा करिब चौबीस सय वर्ष पछि मैत्रेयको आगमन हुने छ । भद्रकल्प सुत्र नामक स्वर्ण अक्षरले लिखित पुस्तकमा हजार बुद्धको नाम सहितको विवरण लेखिएको छ ।

- सर यो तेह्रवटा भूवनहरू भनेको केहो ?
- सूमेद ब्राहमण देखि लिएर सिद्धार्थ सम्म आइपुग्दा जम्मा दश वटा र ती दशवटाबाटै बनाइएका अरू तीन वटा तहहरू पार गरेर मात्र सिद्धार्थ लुम्बिनीमा जन्मन पुगेका हुन् । अर्थात यी तेह्र भूमीहरू वा लेभलहरू जसलाई बोधिसत्व लेभल पनि भनिन्छ पार गरेर वा पास गरेर मात्र बुद्ध बन्न सकिन्छ । यसलाई काठमाण्डौंका गुभाजूहरूले दसपारमिता पनि भनेर पाठ गर्छन् । हिरण्यवर्ण महाविहारमा यस दस पारमितालाई दर्शाउन दसजना आजूहरू राखिएका हुन्छन् ।
सूमेद ब्राहमण देखि लिएर पनौती अर्थात त्यो बेलाको पाञ्चाल भन्ने देशको राजकुमार महासत्व सम्म पुग्दा आफ्नो शरिर नै काटेर दिन सक्ने भैसकेको भन्नुको तात्पर्य पूण्य कमाउँदै गएर सिद्धार्थ भएर जन्म लिंदा सम्म बोधिसत्व भएर बत्तीस लक्षण प्राप्त गरेको हो भने बोधगयामा ज्ञान प्राप्त गरेपछि त्यो दसौं भूमि पनि पार गरेको अवस्था हो ।

तुषित देवलोक हो । यहाँ पनि हामी मानवलाई हुने जस्तै काम, क्रोध, लोभ, मोह हुन्छ । मैत्रेय अहिले देवलोक, अर्थात तुषितमा छन् ।

बुद्धको जीवनीलाई थाङ्का वा गुम्बामा निम्न चित्रहरू मार्फत देखाइएको हुन्छ -

१ Crown Handing मुकूट हस्तान्तरण
बुद्धको जीवनीलाई आधार बनाएर तयार पारिएका थाङ्का, गुम्बा भित्रका चित्रहरूमा सर्वप्रथम तुषित देखाएको हुन्छ । जसमा एक देवले आफ्नो मुकुट झिकेर अर्को देवलाई लगाइदिंदै गरेको चित्रमा दर्शाइएको हुन्छ । मुकुट झिक्ने देव हुनेवाला सिद्धार्थ हो भने मुकुट लिने देव मैत्रेय हो । यसको अर्थ बुद्धहरू पृथ्वीमा आउन अघि तुषित देवलोकमा हुन्छन् । त्यहाँबाट आफूलाई जन्म दिने आमा छान्छन् ।

२ Mayadevi dream मायादेवीको सपना
कपीलवस्तु दरबार भित्र महारानी मायादेवीले सपनामा छ दन्त भएका हाती शरिरमा प्रवेश गर्दैगरेको दृश्य देखाइएको हुन्छ । यसको अर्थ सिद्धार्थ तुषितबाट हात्तीको रूपमा मायादेवीको गर्भमा प्रवेश गरेको हो । यसकारण भारतका पुराना बौद्ध मन्दिरहरूमा देखिने हात्तीको मुर्ति वा चित्रले गणेश होइन बुद्ध दर्शाएको हो । हात्ती नै किन ? भन्दा पहिलो कारण के हो भने जनावरहरूमा सर्वश्रेष्ठ जनावर हात्ती हो । बुद्धलाई महागज पनि भनिएको छ ।

३ Nativity सिद्धार्थको जन्म
कपीलवस्तुकी महारानी मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनी बगैंचामा ११२ लक्षणले युक्त बालक जन्माइन । ३२ प्रमुख र ८० सहायक लक्षणहरू जन्मदैं सिद्धार्थमा देखिन्थ्यो । यी लक्षणहरू सिद्धार्थले सूमेद ब्राहमण देखि लिएर तुषित देवलोक हुँदा सम्म दश पारमिता अभ्यास गरेर प्राप्त गरेका हुन् । त्यसपछि उनी देवदह नगै बाटैबाट कपीलवस्तु फर्किईन ।
- सर, सिद्धार्थको जन्म मायादेवीको काखीबाटै भएको हो ?
- यस विषयमा जर्मनीमा बस्ने एक रिम्पोछेको भनाइ अनुसार त्यो बेला सुद्धोधनको उमेर ५८ वर्ष थियो । भनेपछि मायादेवीको उमेर पनि चालीस पैंतालीसको हाराहारीमा हुनजान्छ । यो उमेरमा बच्चा जन्मँदा समस्या आउँछ । त्यो बेला महारानी मायादेवी माइती जाने क्रममा उनका साथ सुसारेहरू त थिएनै, वैद्यहरू पनि थिए जसले महारानीको अपरेशन गरेर कोखबाट बच्चा निकालिदिएको हुनसक्छ ।
- सर त्यो रूख सालको नै थियो ?
- त्यो दृश्यलाई सालवृक्ष भनेर भनिएको छ तर रूख अशोकको हो ।

४ Youth युवावस्थाको सिद्धार्थ
यो दृश्यमा एउटा राजकुमारले प्राप्त गर्ने शिक्षाको बारेमा देखाइएको छ । युद्धकला सिक्ने क्रममा धनु चलाउन सिकेको देखि लिएर यशोधरा सँग विवाह गरेको सम्मको दृश्य यहाँ देखाइएको छ ।

५ Four signs, old, sick, dead body, monk सिद्धार्थले देखेका चार दृश्यहरू
उनन्तीस वर्षको उमेरमा सिद्धार्थले यी चार दृश्यहरू देखे: बुढो मान्छे, रोगी मान्छे, एउटा लाश र एक जना जोगी । यी दृश्यहरूले सिद्धार्थको मनमा वैराग्यता जाग्यो र एकरात कपीलवस्तुको पूर्वी ढोकाबाट बाहिर निस्केर दरबार त्यागे ।

६ Great Renunciation 
दरबार त्यागेर बिहार र यूपीको सीमा नेर, कुशीनगर र नालन्दाको बिचमा केशरिया भन्ने ठाउँमा पुगि सिद्धार्थले कपाल काटे । आफ्नो राजकुमारको पोशाक त्यागेर मसानघाटमा फालिएको कपडालाई टालेर चीवरको रूपमा प्रयोग गरे । यसै कारण भिक्षुले तल टालेको तीन पीस कपडा मात्र लगाउँछन् । तल लगाउने लुँगी पनि टालेको हुन्छ । त्यसपछि बाहुला नभएको लुगा, अनि एउटा ओड्ने हुन्छ । पछि बुद्धले भन्नुभएको थियो रे 'आफु लगाएको लुगा त्यसै नफाल्नु । कपडा फाटे कट्टु बनाउनु । अझ काम नलाग्ने भए पुछ्ने टालो बनाउनु ।' त्यसैले गर्दा भिक्षुका लुगा नाग्न वा कुल्चन हुँदैन भनिएको हो । चीवर चार रङ्गका हुन्छन् । कालो, खरानी रंगको, पँहेलो र रातो ।

७ Ascetic Practice तपश्या
चीवर लगाइसके पछि उक्त समयमा प्रचलित तपश्याका विभिन्न उपायहरू सिद्धार्थले अभ्यास गरे । सबभन्दा पहिले उनी आलार कालामका चेला भए । तर दु:खका कारण पत्ता लगाउन सकेनन् । आलार कालामले उद्दकरामपुत्रसँग सिक्ने सल्लाह दिए । उद्दकरामपुत्रको चेला भएर निकै दिन बिना अन्न पानी बाँच्न सक्ने भए तर सिद्धार्थको चित्त बुझेन । उद्दकरामपुत्रको तरिका नै रामबहादुर बम्जनले गरेको अभ्यास हो । दुवै गुरूहरूसँग बिदा मागी सिद्धार्थ दु:खका कारण पत्ता लगाउन हिँडे । बोधगयाको नैरञ्जना नदीको दायाँ बायाँ अभ्यास गर्दा पनि कारण पत्ता लागेन । दिउँसो घाममा, राती नदिमा डुबेर तपस्या गरे । यहाँ उनले बिस्तारै खाना घटाउँदै लगेर अन्तत्व: अन्नको एकदाना मात्र र पछि त्यो पनि बन्द गरे । सिद्धार्थ दुब्लाएर खँङ्ग्रङ्ङ भए तर पनि ज्ञान प्राप्त भएन । यसरी छ वर्ष कठोर तपश्यामा बिताउँदा पनि ज्ञान प्राप्त भएन । गान्धार आर्टमा दुब्लो बुद्ध देखाएको कारण यो समयलाई देखाइएको छ ।

८ Enlightment Tree बोधिवृक्ष
वैसाख पुर्णिमाको बिहानीमा उरूवेलाका गाउँलेहरू उनलाई त्यो अवस्थामा देख्दा उनलाई वनदेवता ठाने । सुजाता नामकी युवतीले उनलाई खीर चढाईन् । यहाँ सिद्धार्थको उमेर ३५ वर्ष पुगेको थियो । खीर खाए पछि उनलाई मध्यममार्गको ज्ञान भयो । अर्थात २९ वर्षसम्म दरबारमा मस्तले बस्दा पनि ज्ञान प्राप्त भएन न त ६ वर्ष केही नखाएर तपस्या गर्दा नै प्राप्त भयो । त्यसैले अब ठीक्क खाएर केही होलाकि भन्ने हेर्न चहान्थे उनी । उनले खीर खाएको देखेर उनका पाँचजना साथीहरू ‘अब सिद्धार्थ भ्रष्ट भयो’ भनेर उनलाई छाडेर गए । त्यो दिन बेलुका मंगल नामक किसानले दिएको कुशको आसन हातमा लिएर सिद्धार्थ खोला पारी गए । बोधीवृक्ष मुनी बसेर ध्यान गर्न शुरू गरे । उक्त पीपलको रूख अहिले तेस्रो पुस्तामा पुगेको छ ।

९ Subjugation of Evil मारा दमन
साँझ देखि मध्यरात सम्म अर्थात रातको प्रथम प्रहरसम्म उनलाई विभिन्न अप्ठ्याराहरूको सामना गर्नु पर्यो । राक्षसजस्ताहरूले मार्न आए । निर्वस्त्र सुन्दरीहरू प्रेम कामना गर्दै नाच्ना आए तर उनी विचलित नभएको दृश्य यहाँ देखाइएको छ ।

१० Nirvana निर्वाण
वैसाख पुर्णिमाको मध्य रातमा सिद्धार्थलाई ज्ञान प्राप्त भयो । 'यो संसारमा स्थायी भन्ने केही हुँदैन रहेछ । दु:खको कारण बाहिर होइन आफै भित्र हुँदो रहेछ । दु:खको कारण भनेको हाम्रो आफ्नै मन रहेछ' भन्ने उनले थाहा पाए । यहाँ उनी दु:खबाट मुक्त free from suffering भए । सिद्धार्थबाट बुद्ध भए । यसलाई realization of  cause of suffring पनि भनिन्छ । उनले तपस्या गरेको स्थानलाई वज्रासन भनिन्छ । त्यस उपरान्त सात हप्ता सम्म बुद्ध ध्यान मग्न रहे । ध्यानमग्न अवस्थामा घनघोर वर्षा भयो । बुद्धलाई पानीले नचुटोस् भनेर मुचलिन्द नामक पाँच टाउके नागले आफ्ना फणहरू फिँजाएर छाता झैं ओडाइदिए । उक्त तपस्याको दौरान बुद्धले जम्मा दुई व्यापारीहरू भेटे । तपस्स र भल्लुक नाम गरेका ती व्यापारीहरूले बुद्धलाई खाना खिलाए । बुद्धका नङ र कपाल काटी दिए ।
४९ औं दिनमा ब्रम्हा र इन्द्र आएर बुद्धलाई चक्र चढाए । त्यसपछि प्राप्त भएको ज्ञान बाँड्न अनुरोध गरे । बुद्धले सर्वप्रथम आफ्ना दुई गुरूहरू आलार कालाम र उद्दकरामपुत्रलाई भेट्न चाहे । ध्यानदृष्टीले हेर्दा उनको मृत्यु भैसकेको थाहा पाए । त्यसपछि आफ्ना ती पाँच मित्रहरूलाई नै भेटेर आफूले प्राप्त गरेको ज्ञानको बारेमा जानकारी दिन सारनाथ प्रस्थान गरे ।

हालको बोधगया मन्दिर पछाडी अवस्थित ठूलो ढुँगा भएको ठाउँलाई नै वज्रासन वा Navel of Earth भनिन्छ । एक अस्ट्रेलियन भिक्षु S Dhammika द्वारा लिखित पुस्तक Navel of Earth बौद्ध अध्यन गर्न चाहने सबैले पढ्नै पर्ने पुस्तक हो । उक्त ढुँगानै बुद्धका समय देखि अहिले सम्म अवस्थित २६०० वर्ष पुरानो एकमात्र वस्तु हो ।

११ Turning the Wheel of Dharma धर्मचक्र प्रवर्तन
सारनाथ स्थित मृगदा वनमा ती पाँच मित्र तपस्यकहरूलाई बुद्धले पहिलो पटक धर्मचक्र प्रवर्तन गरे । अर्थात आफूले प्राप्त गरेको ज्ञानलाई उनले ती पाँच मित्रहरूलाई बाँडें । यी पाँच तपस्वीहरू अरू कोही होइनन् पाञ्चाली राजकुमार हुँदा भोकले ग्रस्ती माउ बघिनीका पाँच बच्चाहरू नै हुन् । ती पाँच मध्ये एक बुद्धका हात हेर्ने योगीका भतिजा थिए । उनलाई उनका काकाले भनेका थिए 'एकदिन सिद्धार्थ दरवार छोडेर बुद्ध बन्न निस्कन्छ, म त बुढो भैहालें, तिमी उनको पीछा गर्नु र बुद्धबाट ज्ञान प्राप्त गर्नु ।' त्यसैले पनि उनी कपीलवस्तुको बाहिर सिद्धार्थलाई ढुकेर बसिरहेका हुन्थे । उनले नै बाँकी चारजनालाई बुद्धका वचन सुन्न आग्रह गरे किनकी उनीहरूले बुद्धले खीर खाए पछि बुद्ध बिग्रिए भन्ठानेका थिए ।
बुद्ध धर्म शुरू भएको स्थान नै सारनाथ हो ।

१२ महापरिनिर्वाण
अन्तिम सास जाने बेला सम्म पनि बुद्धले पढाइ रहनु भयो, पढाइ रहनु मात्र भयो । यसरी अन्तिम दृष्य कुशीनगरमा, दुई सालको रूखहरूको मुनी उहाँको अन्तिम प्रवचन देखाइएको छ । उहाँको अन्तिम वाक्य ‘वय धम्म सब्ब संखार’ थियो ।

यी बाह्र दृश्यहरू हरेक बुद्धहरूमा दोहरिन्छन् । यो कुरा काठमाण्डौंको मौलिक ललित विस्तर सुत्रमा लेखिएको छ । ललित विस्तरलाई तिब्बती भाषामा ग्यात्छ्यार रोल्पा भनिन्छ । ललित विस्तरको कुनै लेखक छैन । यसलाई बुद्ध वचन भनिन्छ । हुनसक्छ बुद्धले आफ्ना चेलाहरूलाई आफ्नो जीवनी बताउने क्रममा यी कुराहरू बताएका हुन् ।

(जुलाई २१, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)